Welcome Message From HONORARY CONSUL OF NEPAL TO NSW

नमस्कार🙏
आजदेखि औपचारिक रुपमा अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको अवैतनिक बाणिज्यदूतको जिम्मेवारी सम्हालेको छु । सर्बप्रथम मेरो यो यात्रामा सहयोग, साथ, हौसला र प्रेरणा प्रदान गर्नुहुने स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरु, नेपाल सरकार, नेपाली दूतावास क्यानबेरा, गैर आवासिय नेपालीहरु साथै मेरो परिवारजनप्रति हृदयदेखि नै बिशेष धन्यवाद ब्यक्त गर्न चाहन्छु ।
सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाल सरकारले मलाई यो जिम्मेवारी पूरा गर्न योग्य ठानेकोप्रति मलाई जिम्मेबारीबोधसहित यो पदप्रतिको गरिमा अझै बढेको महसुश भएको छ। तसर्थ, नेपाल र नेपालीको हितका लागी सम्पूर्ण समुदायको ईच्छा,योजना र भिजनहरुसमेतलाई समेट्दै मेरो मन बचन र कर्मले दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु ।
अष्ट्रेलियामा झण्डै ३ दशक लामो बसाइको अनुभवसँगै यहाँको स्थानीयदेखी राज्यस्तरसम्मको राजनीतिक, सामाजिक तथा आर्थिक परिबेशसंग निकटको सम्बन्ध हुनुको नाताले मात्रै नभएर नितान्त ब्यवसायिक र सामाजिक पृस्ठभूमिको नागरिक भएको नाताले पनि समाजका सबै तह र तप्का, राजनीतिक दल, संघसंस्था र ब्यक्तिहरुसंग सुमधुर सम्बन्ध बनाइ काम गर्न मलाई सरल हुने मेरो बिश्वास छ ।
मेरो बिशेषगरि, यहाँका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालसँग जोड्ने बिभिन्न कार्यक्रमहरु प्राथमिकतामा राखेर काम गर्ने चाहना छ । साथै, बिभिन्न साँस्कृतिक, सामाजिक एवम् खेलकुदसम्बन्धी गतिबिधिहरुमार्फत नेपाल र अस्ट्रेलिया बीचको सम्बन्ध अझ सुदृढ बनाउन दूतावास र अन्य वाणिज्यदूतहरुसँग सहकार्य गर्ने पनि योजना छ । यसका लागि बिभिन्न कार्यक्रममा अतिथि भएर मन्तब्य र भाषणमाभन्दा बढी समय म सकेसम्म नेपाल र नेपालीलाई प्रतिनिधित्व गर्ने कार्यक्रमहरुमा सरिक हुने र अन्य माध्यमबाट आफ्नो योगदान दिनेबारे मैले सोचेको छु ।
यद्यपि, दुई देशको बाणिज्य बिस्तार र समुदायको हितलाई केन्द्रमा राखेर गर्न सकिने र गर्नैपर्ने केही कामहरुबारे मेरा केही योजनाहरु छन् जुन बिस्तृत रुपमा यहाँहरुसमक्ष छिटै सार्बजनिक गर्ने नै छु । मलाई आशा एवम् बिश्वास छ, बिगतमा जस्तै मैले यहाँहरुको साथ, सहयोग, हौसला र रचनात्मक सुझावहरु प्राप्त गर्ने नै छु। ।
अन्तमा, आदरणिय दीपक खड्का ज्यूले बिगत करिब १५ बर्षदेखी अभिच्छिन्न यो जिम्मेवारीमा रहेर सेवा गरि यो पदको शोभा र गरिमालाई उचो राख्नुभएकोमा उहाँप्रति बिशेष आभारी छु । साथै,सिड्नीस्थित हाम्रो कार्यालय यथाशीघ्र सञ्चालनमा आउन लागेको जानकारी गराउँदै यहाँहरुको सल्लाह, सुझाव वा गुनासोका लागि म लागायत हाम्रो टिम सदा यहाँहरुलाई स्वागत गर्न तत्पर रहेको अवगत गराउन चाहन्छु । धन्यबाद ।
सञ्जीवकुमार शर्मा
अवैतनिक बाणिज्यदूत,
न्यु साउथ वेल्स, अष्ट्रेलिया
Published On: August 25th, 2024Categories: News

Share this post